काठमाडौं । आपतकालिन तथा दैविक आपत्तिका बेला उद्दारमा खटाइनु पर्ने नेपाली सेनाका हेलिकप्टर एमआई १७ यतीबेला राशन ठेगेदारको भरिया बन्दै ठाउँठाउँमा उडान भरिरहेको खबर छ । विग्रेको र दुर्घटनामा परेका गरी छवटा हेलिकप्टर मध्ये चार वटा विमानस्थलस्थित ११ नम्बर बाहिनीको जहाज हेङगरमा थन्कीएका छन् भने दुई वटा हेलिकप्टर उद्दार तथा विभागिय कामकारवाहीमा उड्नु पर्नेमा ठगेदारका भारी बोकेर मध्यपश्चिमका विभिन्न जिल्लामा उडान गरीरहेको पाइएको छ । यद्यपि यसलाई नेपाली सेनाका उच्च अधिकारीले भने जवरजस्त लुकाउनु खोजीरहेको बताइन्छ । खोजतलासलाई प्राप्त खबरअनुसार मध्यपश्चिमको सुर्खेतलाई वेसक्याम्प जस्तै बनाएर आर्मीका हेलिकप्टर मध्यपश्चिमका विभिन्न विकट पहाडी जिल्लामा ठेगेदारका खाद्यान्नको भरिया बनिरहेका छन् । फिस्टेल एयर र ठेगेदार प्रदिप गौचनले तोकिएको अवधिसम्म पनि खाद्यान्न आपूर्ति गर्न नसकिरहेको र उनीहरुले जरिवाना तिर्नु पर्ने अवस्थामा आर्मीका हेलिकप्टरले ठेगेदारको स्वार्थ पूरा गरिदिएको सैनिक स्रोतले जानकारी दिएको छ । प्रधानसेनापति छत्रमान गुरुङका बहिनीज्वाइँ उपरथी दमन घलेले ठेगेदारको स्वार्थअनुकुल हेलिकप्टर उडाउन दबाब दिएको जानकारी खोजतलासले पाएको छ । अनुशासीत एवम् मर्यादित सैनिक संगठनको गहना भनेकै चेन अफ कमाण्ड हो । तर प्रधानसेनापतिको नाता सम्वन्ध भएकै कारण उपरथी घलेले हेडक्वाटरभित्र आफूलाई हर्ताकर्ता ठान्ने गरेको बताइन्छ । सैनिक स्रोतका अनुसार उडानका लागि योग्य मानिएका बाँकी दुई हेलिकप्टर समेत इन्सुरेन्स नगरीएको मात्रै नभएर हेलिकप्टरको क्षमताभन्दा बढी मान्छे र खाद्यान्नको ढुवानी गरेर पाइलट तथा प्राविधिकको कमाइ खाने भाँडो बनाइएको समेत जानकारी मिलेको छ । यसरी भार क्षमताभन्दा बढी समान तथा व्यक्ति सहित उडानका क्रममा दुर्घटना भएको खण्डमा त्यसको जवाफदेहिता कसले लिने गम्भीर प्रश्न उब्जिएको छ । यहीबीच हेलिकप्टर दूरुपयोग बारे बुझ्न एघार नम्बर बाहिनीका बाहिनीपति जर्नेल रविविक्रम शाहसँग सम्पर्क गर्दा उहाँले जिम्मेवारीबाट तर्कँदै हेडक्वाटरमा सोध्न आग्रह गर्नु भयो । यो कुरो मलाई सोध्ने होइन हेडक्वाटरले हेर्छ उसैलाई नै सोध्नुस् न ! प्लिज है ! त्यत्ती भन्दै उहाँले फोनमा थप कुरा गर्न चाहानु भएन । नेपाली सेनाको हवाई सम्वन्धि सम्पूर्ण जिम्मेवारी एघार नम्बर बाहिनीपतिलाई छ तर हेलिकप्टर दूरुपयोग भएको विषयमा हेडक्वाटरलाई सोध्न भन्दै उम्कनुले या त हेलिकप्टर दूरुपयोगबाट हुने अनुचित लाभ को भागबण्डा उहाँले पनि प्राप्त गर्नु भएको छ अन्यथा हेडक्वाटरकै अघोषित आदेशमा हेलिकप्टर उडेकोमा दुईमत छैन । यसै विषयलाई लिएर नेपाली सेनाका प्रवक्ता जर्नेल रोमेन्द्र क्षेत्रीसँग सम्पर्क गर्दा उहाँले आर्मीको हेलिकप्टर उड्ने वित्तिकै प्रपोगाण्डा मच्चिने गरेको बताउनु भयो । जहिले पनि हाम्रो हेलिकप्टर उड्छ तब त्यो प्रकरण सनसनीपूर्ण भइहाल्छु उहाँले अगाडी थप्नुभयो ुकसैको नीजि स्वार्थ हुन सक्छ । किनकि हाम्रो हेलिकप्टर अफिसियल काममा सुर्खेत गएको हो । औषधी उपचार र विकाश निर्माणका सामाग्री लिएर गएको छ । अहिले सुर्खेत व्यारेकमै छ । उहाँले हेलिकप्टरको दूरुपयोग गरीएको कहीँकतैबाट पुष्टि नभएको दावी गरे पनि पुष्टि भएमा के हुन्छ त भन्ने प्रश्नको जवाफ भने आलटाल गरिदिनु भयो । उपरथी दमन घलेको इशारामा हेलिकप्टर दूरुपयोग गरीएको बारे जिज्ञासा राख्दा प्रवक्ता क्षेत्रीले एक्कै शब्दमा भन्नुभयो, त्यस्तो नहोला । जन आन्दोलन २०६२/६३ को सफलतापछि करिव-करिव निस्क्रिय भूमिकामा रहेको नेपाली सेनालाई एक दुई व्यक्ति विशेषका यस्तै यस्तैखाले अनियमित गतिविधिका कारण पनि बेलामौकामा विवादमा तान्ने काम भइरहेको बताइन्छ ।
|